दुई खुट्टामा कुद्नसक्ने प्राचीन गोहीको पदचिह्न भेटियो

एजेन्सी, ३ असार । दक्षिण कोरियामा वैज्ञानिकहरूले प्राचीन जीवको पदचिह्नहरू फेला पारेका छन् ।

वैज्ञानिकहरूले झन्डै ११ वा १२ करोड वर्षअघि अस्तित्वमा भएको एउटा तालछेउछाउ जमेको हिलोयुक्त थिगरमा १८ देखि २४ सेन्टिमिटर लामा १०० वटाजति आकृति फेला परेका छन् ।

अध्ययनमा संलग्न विज्ञहरूले प्राचीनकालमा केही गोहीहरू दुई खुट्टा टेकेर हिँडडुल गर्न र अस्ट्रिच जसरी दौडिन सक्ने सक्षम भएको पदचिह्नले सङ्केत दिएको बताएका छन् ।

यूनिभर्सिटी अफ कोलराडोसँग आबद्ध अवकाशप्राप्त प्राध्यापक मार्टिन लक्लीले मानिसहरू गोही खासै केही नगर्ने, दिनभरि नदीको किनारमा अल्छी भएर बसिरहने सोचेपनि अध्ययनबाट गोहीबारे हाम्रो अवधारणा फेरिन सक्ने बताएका छन् ।

प्राध्यापक लक्ली र उनका सहकर्मीहरूले उक्त जीवको वैज्ञानिक नामकरण ब्याट्राकोपस ग्र्यान्डिस राखेका छन् । जीवाश्मबारे ‘साईअन्टिफिक रिपोर्ट्स’ नामक जर्नलमा प्रकाशित भएको शोधमा जीवको भौतिक अवशेष नभेटिएपनि जीव अस्तित्वको प्रमुख आधार ढुङ्गामा भेटिएका छापलाई मानिएको छ ।

आफ्नै हात हेर्दा जसरी नै ढुङ्गामा भेटिएका छापना औँला, छालाका सबै धर्सा देख्न सकिन्छ । उनीहरूका अगाडिका खुट्टाको चिह्न भेटिएको छैन ।

कुर्कुच्चाले बनाएको डोबको गहिराइले उनीहरू उभिएर डाइनसोर जसरी हिँड्ने सङ्केत गरेको दक्षिण कोरियाको चिन्जु न्याश्नल यूनिभर्सिटीका प्राध्यापक तथा अध्ययन टोलीका प्रमुख क्युङ सू किमले बताएका छन् ।

सबै अनुसन्धानकर्ताहरू प्राचीन गोहीबारे गरिएको नयाँ विवेचनासँग सहमत नभएपनि अध्ययनले नयाँ बहस आरम्भ हुने सम्भावना देखिएको छ ।

प्रकाशित मिति ३ असार २०७७, बुधबार ०८:३७