उर्लाबारीको जंगलमा भेटियो यस्तो अनौठो केरा

उर्लाबारी /मोरङको उर्लाबारीस्थित सुनझोडा र पथरी शनिश्चरे साझेदारी वन क्षेत्रमा रातो केराको बोट भेटिएको छ । जंगलमा कोसा लाग्दै गरेको अवस्थामा भेटिएको रातो केरा कसैले रोपेको हो या आफै उम्रिएको हो भन्ने पत्ता लागेको छैन ।

वन कार्यालय अन्तर्गतको मंगलबारेस्थित सवडिभिजन कार्यालयका रेञ्जर अमृत चेम्जोङ लिम्बूले हालै वन क्षेत्रमा रातो केरा फल्दै गरेको देखेपछि फोटो खिचेर फेसबुकमा पोष्ट गरेका थिए । उनले लेखेका छन्- ‘कुन प्रकारको केरा हो चिन्न सकिएन । जिन्दगीमा पहिलो पटक देखें ।’

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता डा राजेन्द्र उप्रेतीका अनुसार दक्षिण भारत र श्रीलंकातिर रातो केराको व्यवसायिक खेती हुने गरेको छ । उनले भने रातो केरा नेपालमा पाइने मालभोग जस्तै हुन्छ । रङ मात्र फरक हो । तर मोरङको जंगलमा भेटिएको भनिएको रातो केरा चाहिं कसैले रोपेको थाहा नभएका कारण जंगली जातको हुनसक्ने र परीक्षण नगरी खान नहुने डा.उप्रेतीको सुझाव छ ।

विभिन्न समाचार एजेन्सीहरुका अनुसार रातो केराको यो प्रजाति सबैभन्दा पहिले कोस्टारिका देशमा फेला परेको थियो । अहिले पूर्वी अफ्रिका तथा दक्षिण अमेरिकामा यसको सबैभन्दा धेरै उत्पादन हुने गरेको छ र विश्वका विभिन्न देशमा निर्यातसमेत हुने गरेको छ ।

विभिन्न समाचार एजेन्सीहरुका अनुसार रातो केराको यो प्रजाति सबैभन्दा पहिले कोस्टारिका देशमा फेला परेको थियो ।

यो केराको कोसा हल्का गुलाफी रातो रङको हुन्छ भने स्वाद अन्य केराजस्तै हुन्छ । रातो केराको बोट सामान्य केरा जस्तै हुन्छ । यसले ‘जी नाइन’ र ‘विलियम हाइब्रेड’ को तुलनामा २ महिना ढिलो फल दिन्छ । फल पनि यसको रातो र ठूलो हुन्छ ।

यसमा पर्याप्त भिटामिन सी का साथै क्यालोरी पनि प्रशस्त पाइने बताइन्छ । त्यस्तै सोडियम तथा कोलेस्ट्रोल हुँदैन भने म्याग्नेसियम तथा प्रोटिन पर्याप्त पाइन्छ । मुटु सम्बन्धी रोगीका लागि यो केरा निकै लाभदायी हुने बताइन्छ । पश्चिम नेपालको कञ्चनपुरमा केरा उत्पादन कृषि सहकारी संस्थाले इजरायलबाट बीउ ल्याएर पहिलो पटक रातो केराको खेती गरेको थियो ।-उद्योष अनलाइन बाट

प्रकाशित मिति २ असार २०७७, मंगलवार ०४:५५