उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिने घोषणा

पोखरा —आज बसेको संघीय संसदको प्रतिनिधिसभाको बैठकमा उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिने घोषणा गरेकी छिन् । प्रतिनिधिसभालाई सम्बोधन गर्दै लामो समयसम्म सार्वभौम संसदको महत्वपूर्ण अंग प्रतिनिधिसभा सभामुखविहीन भएकाले जटिलता उत्पन्न भएको बताउँदै उपसभामुख तुम्बाहाङ्फेले आफूले राजीनामा दिएर मार्गप्रशस्त गर्ने बताएकी छिन् ।

‘दोधारपूर्ण अवस्थामा उपसभामुख पद पनि रिक्त गरेर यस गरिमामय सदनलाई नेतृत्वविहीन राख्नु उचित नहुने मान्यताका आधारमा सभामुख छनौटमा ठोस आधार सिर्जना भएपछि आफूले मार्गप्रशस्त गर्ने भनेर मैले सार्वजनिक रुपमा राखेको मान्यता पनि सम्मानित सदनसमक्ष अभिलिखित गराउन चाहन्छु,’ उपसभामुख तुम्बाहाङ्फेले संसदलाई सम्बोधन गर्दै भनिन्

उनले समावेशी लोकतन्त्र अक्षर वचनबाट होइन, अभ्यास र आचरणबाट मात्रै पुरा हुने बताइन्। प्रतिनिधिसभामा बहुमत प्राप्त नेकपाले सभामुखको दाबी गरेकाले प्रचलित संवैधानिक र कानुनी व्यवस्थाका आधारमा सहजीकरणका लागि राजीनामा दिने उनले बताइन्।

प्रतिनिधिसभाको बैठक दिउँसो चार बजेसम्मका लागि स्थगित भएको छ। केही बेरमै शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिने र प्रतिनिधिसभाका सदस्य महन्थ ठाकुरले चार बजे ज्येष्ठ सदस्यका रुपमा राष्ट्रपतिबाट सपथग्रहण गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति ६ माघ २०७६, सोमबार ०८:३२