आज २५६४ औं बुद्ध जयन्तीका यसरी सजाइयो मायादेबी मन्दिर

कपिलवस्तु- कोरोना भा’इरसका कारण यस वर्षको २५६४ औं बुद्ध जयन्ती तथा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन स्थगित गरिए पनि बिहीबार बैशाख २५ गते मनाइने बुद्ध जयन्तीका लागि मायादेवी मन्दिर सिंगारिएको छ । मन्दिरको गजुर र चारैतिर रंगरोगन गरेर चिटिक्क पारिएको छ ।

मन्दिरको चारै कुनामा नेपालको झण्डा राखिएको छ । मायादेबी मन्दिरमा सिमित ब्यक्तिहरुको सहभागितामा पूजापठा र २५ सय ६४ वटा दीप प्रज्वल गनिरे लुम्बिनी विकास कोषका सचिव ज्ञानीन राईले बताए । मायदेबी मन्दिरमा कोषका सदस्य, भिक्षुहरुको सीमित टोलीले प्रार्थना र २५६४ वटा दीप प्रज्जवलन गर्ने कार्यक्रम छ । कोषले विहार, मोनाष्ट्री र गुम्बाका १०र१५ जना भिक्षु भिक्षुणी, लामागुरु, गुरुमा र अनागरिकाद्वारा मायादेवी मन्दिरमा पूजाआजा गरिने सचिव राईले बताए ।

सरकारले कोरोना भा’इरस रोकथामका लागि जारी भएको निर्देशनको पूर्ण पालना गर्दै निश्चित भौतिक तथा सामाजिक दूरी कायम गरी पूजा र प्रार्थना गरिने कार्यक्रम रहेको रहेको विकास कोषले जनाएको छ ।

यस्तै कपिलवस्तुको तिलौराकोट र निग्रोधराम, नवलपरासीको रामग्राममा समेत सीमित ब्यक्तिहरुको सहभागीतामा दीप प्रज्ज्वलन गरिने कार्यक्रम रहेको कोषका सदस्य राजेश ज्ञवालीले बताए ।

लुम्बिनीमा शाक्यवंशीय राजा शुद्धोधन र रानी मायादेवीका पुत्रका रुपमा बैशाख शुक्ल पूर्णिमाका दिन जन्मिएका राजकुमार सिद्धार्थ गौतमले भारतको बोधगयामा लामो तपस्यापछि बुद्धत्व प्राप्त गरेपछि गौतम बुद्धको नामले विश्वभार प्रख्यात हुनुभएको हो । बुद्ध जन्मिएको, बुद्धत्व प्राप्ती गरेको दिनलाई बुद्ध जयन्तीका रुपमा मनाउने गरिन्छ ।

प्रकाशित मिति २४ बैशाख २०७७, बुधबार २३:५९