४ लाख ७ हजार श्रमिकहरु लकडाउन खुलेलगत्तै स्वदेश फर्किन तम्तयार

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका करिब ५ लाख ३४ हजार नेपाली स्वदेश फर्किन चाहेको देखिएको छ । सरकारले गरेको प्रारम्भिक अध्ययनमा ठूलो संख्यामा नेपालीहरु अन्तर्राष्ट्रिय उडान खुल्ने प्रतिक्षामा रहेको देखाएको हो ।

संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय अन्तरगतको वैदेशिक रोजगार बोर्डको सचिवालयको कार्यकारी निर्देशक राजन श्रेष्ठले लकडाउन नखुल्दै १ लाख २७ हजार नेपाली स्वदेश फर्किन चाहेको जानकारी दिए ।

समस्यमा परेका नेपालीलाई उ’द्धारका लागि पहल सुरु भएको र त्यसका लागि सरकारले नै निर्णय गर्नुपर्ने बताए । श्रेष्ठकाअनुसार यस्तो तथ्यांक कतार, यूएई, साउदी अरब, कुवेत, बहराइन, ओमान र मलेसिया गरी ७ देशका कामदारहरुको मात्रै हो ।

उनका अनुसार ४ लाख ७ हजार श्रमिकले लकडाउन खुलेलगत्तै स्वदेश फर्किने इच्छा व्यक्त गरेका छन् । यो विवरणसहित सरकारले अब के–के गर्ने भन्ने सुझावसहितको प्रतिवेदन बोर्डले श्रम मन्त्रालयमा बुझाएको श्रेष्ठले जानकारी दिए ।

बोर्डका अनुसार आईओएमको तथ्यांकले करिब २३ लाख ६५ हजार ८७५ जना नेपाली विश्वका विभिन्न भागमा विभिन्न प्रयोजनमा पुगेको देखाउँछ । त्यसमध्ये अन्य मुलुकमा भिजिट भिसा बाहेक १४ लाख ८७ हजार ४५२ जना कामको लागि अनुमति लिएर गएकाहरु छन् ।

प्रकाशित मिति २४ बैशाख २०७७, बुधबार ०७:३५