हरेक महिना वनभोज सहित नेकपामा तँ भन्न नपाइने,

पोखरा- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सदस्यहरुलाई ११ बुँदे आचार संहिता जारी गरेको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको सर्कुलरमा पार्टीका नेता, कार्यकर्ता तथा सदस्यहरुले पालना गर्नुपर्ने आचार संहिता पनि समावेश गरिएको छ

सबै सदस्य जुटेर पारिवारिक बैठक गर्नुपर्ने, दिनभर गर्नुपर्ने घरको कामको कार्यविभाजन गर्नुपर्ने, अप्ठ्यारो कामको जिम्मा आफूले लिनुपर्ने नेकपाको आचार संहितामा उल्लेख छ । परिवारका सदस्य र अरुसँग बोलिने भाषा मर्यादित, सरल र मिठासपूर्ण हुनुपर्ने भन्दै नेकपाको आचार संहितामा भनिएको छ, ‘कसैलाई पनि हेलाहोचो,तथा तँ भन्न पुरै बन्द गर्नुपर्छ ।’

समाजवादी संस्कृतिको आधारनै सामूहिक जीवन प्रणाली भएको भन्दै नेकपाले महिनामा एक दिन गाउँ वा टोलका सबै परिवारजनबीच वनभोज वा सहभोज गर्नुपर्ने बताएको छ । यस्ता कार्यक्रममा मद्यपान, धुमपान वा छाडा व्यवहार गर्न प्रतिबन्ध लगाउनुपर्ने भन्दै पनी भनेको छ, मनोरञ्जनका लागि शुभकामना आदानप्रदान, मेलमिलाप, सार्वजनिक महत्वका विषयमा छलफल, नाचगान, नाटक, प्रवचन आदि सञ्चालन गर्नुपर्दछ ।’

नेकपाले महिला हिंसा वा छुवाछुतपूर्ण व्यवहार गरेको प्रमाणित भएमा पार्टीबाट निस्कासन गर्ने र जनप्रतिनिधिमुलक निकायमा उम्मेदवार बन्न रोक्का लगाउने बताएको छ ।

प्राविधिक जस्तो लाग्ने निर्णयहरु पार्टीले झेलिरहेका राजनीतिक तथा संगठनात्मक समस्याहरुको समाधानका लागि विशेष रहेको छन् ।

प्रकाशित मिति ६ माघ २०७६, सोमबार १२:३४