फेसबुकले  चिनियाँ राष्टपति सीसँग माफी माग्यो

पोखरा — चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शनिबार फेसबुकले माफी मागेको छ । बर्मेली भाषाबाट अंग्रेजीमा अनुवाद गर्दा उनको नाममा प्राविधिक कारणले अर्कै अर्थ लाग्ने शब्द देखिएको भन्दै उसले शनिबार माफी मागेको हो ।

सी हाल दक्षिणपूर्वी एसियाली राष्ट्र म्यानमार भ्रमणमा छन् । भ्रमणको दोस्रो दिन सी र म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ साङ सुकीबीच दर्जनौं सम्झौता भएका थिए । सोही सम्झौतापछि सुकीको आधिकारिक फेसबुक पेजमा सीबारे उल्लेख गरिएको थियो । तर जब फेसबुकमा त्यसको अंग्रेजी अनुवाद गरियो राष्ट्रपति सीको नाममा ‘अश्लील अर्थ’ लाग्ने अंग्रेजी शब्द देखियो । स्थानीय न्युज जर्नल ‘द इर्रावाड्डी’ मा सोही गलत अंग्रेजी शब्दसहितको ‘हेडलाइन’ समेत प्रकाशित भएको थियो ।

‘फेसबुकमा बर्मेलीबाट अंग्रेजी भाषामा भएको गलत अनुवादसम्बन्धी प्राविधिक विषयलाई हामीले समाधान गरेका छौं । यस्तो गल्ती हुनुहुँदैन्थ्यो र भविष्यमा यस्ता गल्ती नहोऊन् भनेर हामीले कदम चालेका छौं । यो गल्तीका लागि हामी इमानदारीका साथ माफी माग्छौं,’ फेसबुकले जारी गरेको विज्ञप्तिमा उल्लेख

‘बर्मेली डाटाबेसमा उनको नाम छैन,’ कम्पनीले बताएको छ । बर्मेली भाषाको ‘सी’ र ‘शी’ बाट सुरु हुने सबै शब्दमा फेसबुक अनुवादले एउटै अर्थ उत्पादन गर्ने गरेको पनि उसले जनाएको छ ।

चिनियाँ विदेश मन्त्रालयले भने प्रतिक्रिया दिन अस्वीकार गरेको छ । चीनमा फेसबुक प्रतिबन्धित छ । यद्यपि हङकङमा भने यसमा बन्देज छैन । साथै, चीन आधारित कम्पनीहरूले अन्य राष्ट्रमा फेसबुक विज्ञापन प्रयोग गर्छन् । यही कारणले गर्दा फेसबुकले गर्ने आम्दानीका आधारमा अमेरिकापछि चीन उसको सबैभन्दा ठूलो राष्ट्र हो ।

प्रकाशित मिति ६ माघ २०७६, सोमबार १२:१०