विवाह गराउँदा बेहुला-बेहुलीको नागरिकता र जन्मदर्ता माग्ने पण्डित  (भिडियो हेर्नुस्)

काठमाण्डौ । नेपालगञ्जबाट पूर्वतिर झण्डै एक घण्टा गाडीको यात्रापछि पुगिन्छ राप्तीसोनारी गाउँपालिकाको बिनौना गाउँ । वरपर गहुँबारी, त्यही बारीको बीचमा छ पुरोहित ताराप्रसाद शर्माको घर । इँटाको गारो र टायलले छाएको चिटिक्कको घर । आँगनमा भैँसी र बाख्रा । आँगनमा डोरीले बनाइएको खटियामा बसिरहेको अवस्थामा भेटिनुभयो, पुरोहित ताराप्रसाद ।

शिरमा ढाका टोपी, निधारमा रातो ठाडो टीका, गहुँगोरो वर्ण । उमेरले ६७ वर्ष पुग्नुभएका पुरोहित ताराप्रसादको दैनिकी पूजापाठ र कर्मकाण्डका काम गर्दै बित्छ । गाउँमा विवाह, ब्रतबन्ध र अरू काजकर्म हुँदा सबैले उहाँलाई सम्झन्छन् ।

विवाह गर्ने केटाकेटीका चिना हेरिदिने, लगन जुराइदिने र विवाह गराइदिने कामसमेत उहाँकै हो । विवाह गराउने बेला उहाँले केटाकेटीको उमेर बुझ्नुहुन्छ । उमेर ढाँटेको जस्तो श’ङ्का भएमा नागरिकता र जन्मदर्ता माग्नुहुन्छ ।

‘जन्मदर्ता, नागरिकता नभए म वैवाहिक कार्य गर्दिनँ’, ताराप्रसादले भन्नुभयो । बालविवाहले केटाकेटीको भविष्य नै बिग्रने गरेको थाहा पाएपछि उहाँले नागरिकता र उमेर खोज्न थाल्नुभएको हो । यो समाचार इन्द्रसरा खड्काले उज्यालो अनलाईनका लागि लेखेकी हुन् । हामीले साभार गरेका हौं ।

भिडीयो:

प्रकाशित मिति १७ चैत्र २०७७, मंगलवार ०१:५१