आज बार्सिलोना र युभेन्टसको भिडन्त

पोखरा/युरोपियन च्याम्पियन्स लिगमा आज (मंगलबार) राति इटालियन च्याम्पियन युभेन्टस र स्पेनिस जायन्ट बार्सिलोनाबीचको खेल हुँदैछ । बार्सिलोनाको मैदान क्याप नोउमा हुने समूह चरणको अन्तिम खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

यस खेलको हार–जितले दुवै टोलीलाई कुनै फरक पार्दैन । किनकि, युभेन्टस र बार्सिलोना दुवैले नकआउट चरणमा स्थान पक्का गरिसकेका छन् । अपराजित रहेको बार्सिलोना शीर्ष स्थानमा रहँदै अघिल्लो चरणमा प्रवेश गरेको हो भने युभेन्टस दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरेको हो ।

समूह ‘जी’ मा बार्सिलोना १५ अंकसहित शीर्ष स्थानमा रहँदा युभेन्टस १२ अंकसहित दोस्रो स्थानमा छ । यस खेलमा युभेन्टस बार्सिलोनाविरुद्ध हारको बदला लिने दाउमा हुनेछ । भन्दा अगाडिको भेटमा बार्सिलोनाले युभेन्टसलाई उसैको मैदानमा २–० गोलले हराएको थियो । बार्सिलोना भने युभेन्टसविरुद्ध लगातार जित निकाल्ने दाउमा छ ।

आजको खेल बार्सिलोनाका कप्तान लियोनल मेस्सी तथा युभेन्टसका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोका लागि भने प्रतिष्ठाको लडाइँ बन्न सक्छ । पुराना प्रतिद्वन्द्वीसमेत रहेका यी दुईले दुई वर्षपछि पहिलोपटक एक–अर्काविरुद्ध खेल्न लागेका हुन् ।

अघिल्लो खेलमा पोर्चुगिज स्टार रोनाल्डो उपस्थित थिएनन् । कोरोना संक्रमण भइ उनी होम आइसोलेशनमा थिए । यस खेलमा दुवै उपलब्ध हुने भएकाले यो खेल प्रतिष्ठाको लडाइँ बन्नसक्ने देखिएको हो ।

मेस्सी र रोनाल्डोको ९ वर्षसम्म प्रतिद्वन्द्विता देखिएको थियो । रोनाल्डो रियल मड्रिडमा छँदा उनीहरूको प्रतिस्पर्धा गर्ने एकमात्र खेल ‘एल क्लासिको’ थियो । तर, स्पेन छोडेर इटाली आएयता मेस्सी र रोनाल्डोले एक–अर्काविरुद्ध खेल्ने मौका पाएका थिएनन् ।

प्रकाशित मिति २३ मंसिर २०७७, मंगलवार ०१:५०