यो हो संसारको सबभन्दा द्रुत गतिको कार, २ घन्टामा काकडभिट्टाबाट महेन्द्रनगर

एसएससी टुआटारा कारले संसारको सबभन्दा द्रुत गतिको कीर्तिमान बनाएको छ ।

यसले ५३३ किलोमिटर प्रतिघन्टाको टप स्पीडको कीर्तिमान कायम गरेको छ । यसको टप स्पीडमा जाँदा काकडभिट्टाबाट महेन्द्रनगर पनि दुई घन्टामै पुगिन्छ ।

यसले बुगाती सिरोनको ४९० किलोमिटर प्रतिघन्टाको कीर्तिमान भंग गरेको छ ।


१२ दिनअघि अक्टोबर १० मा यस कारलाई अमेरिकाको ला भेगासमा रहेका सडकहरूमा दौडाइएको थियो । यसको कीर्तिमानलाई क्याप्चर गर्नका लागि विशेष जीपीएस मापन उपकरण र १५ वटा भूउपग्रह उपयोग गरिएको थियो ।

रेसिङ कारका चालक ओलिभर वेबले यो कार यसभन्दा पनि छिटो दौडिने बताए । यसको कीर्तिमान छिट्टै भंग हुने सम्भावना छैन । कारको तौल १२ सय ४७ किलोग्राम छ ।

कम्पनीले अहिलेका लागि जम्मा १०० वटा कार ल्याउने भएको छ । कारको मूल्य लगभग १९ करोड रुपैयाँ छ ।

यस कारमा ट्विन टर्बो ५.९ लिटर भी८ इन्जिन प्रयोग गरिएको छ । यसले १७ सय २६ बीएचपीको पावर जेनरेट गर्छ । कार रेसिङमा रुचि भएकाहरूलाई यो कार रुचिकर हुनेछ ।

प्रकाशित मिति १२ कार्तिक २०७७, बुधबार ०८:२८