अमेरिकी राष्ट्रपति ट्रम्प भारतका लागि प्रस्थान

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पत्नी मेलिनियाका साथ दुई दिने राजकीय भ्रमणमा आज भारत आउँदैछन्।

त्यसका लागि ट्रम्प अमेरिकाबाट भारत प्रस्थान गरिसकेका छन । उनी विहान ११ बजेर ४० मिनेटमा नयाँ दिल्ली आइपुग्नेछन् । ट्रम्पको स्वागतका लागि भारत सरकार उत्सुक रहेको विदेश मन्त्रालयका प्रवक्ता रवीस कुमारले बताएका छन्। कार्यतालिका अनुसार ट्रम्प र प्रधानमन्त्री नरेन्द्र मोदी आजै मोदीको गृहनगर गुजरात पुग्नेछन्।

भ्रमणको दोस्रो दिन मंगलबार ट्रम्प दिल्ली आउनेछन्। भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगलाका अनुसार मंगलबार हैदरावाद हाउसमा मोदी र ट्रम्पबीच प्रतिनिधिमण्डलबीच रक्षा र व्यापार लगायतकामा छलफल हुनेछ।

सन् १९४७ मा भारत स्वतन्त्र भएपछि भारत भ्रमणमा आउन लागेका ट्रम्प अमेरिकाका सातौं राष्ट्रपति हुन्।

यसअघि पछिल्लो पटक तात्कालीन राष्ट्रपति बाराक ओवामाले २०१५ जनवरी २५–२७ मा तीन दिने भारत भ्रमण गरेका थिए। ओवामा आफ्नो दुवै कार्यकालमा भारत आएका थिए।

प्रकाशित मिति १२ फाल्गुन २०७६, सोमबार ०१:५५