झरी झेल्दै सात लाख बढीले गरे पशुपतिनाथ दर्शन

पोखरा- महाशिवरात्रिका शुभ दिन आज विश्वभरका हिन्दूका आराध्यदेव पशुपतिनाथको सात लाखभन्दा बढीले दर्शन एवं पूजार्चना गरेका छन् ।

बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलेर देवाधिदेव महादेवको जलधारासहित अखण्ड पूजन भइरहेको छ र आज अपराह्नको समयसम्म सात लाखभन्दा बढी भक्तजनले दर्शन गरेका पशुपति क्षेत्र विकास कोषले बताएको छ ।

आज रातभर शिवपूजन, भजन र रुद्राभिषेकसँगै पशुपतिनाथका चारै प्रहर चारवटै द्वार खोलेर दर्शनको व्यवस्था मिलाइएकाले १० लाख भक्तजनले भगवान् पशुपतिनाथको दर्शन गर्ने अपेक्षा गरिएको कोषका कर्मचारी गौरीशङ्कर पराजुलीले बताए ।

शिवरात्रिका दिन वर्षा हुनुलाई शुभ मानिन्छ र अपराह्नदेखिको झरीको कुनै परवाह नगरी दर्शनार्थीले पशुपतिनाथको दर्शन गरेका र करीब सात हजार तीर्थयात्री, भक्तजनलाई ओत लाग्ने व्यवस्था गरिएको उनले बताए ।

साधु, सन्त, महन्त, नाँगा बाबा लगायतले धुनी जगाएर जाडोभगाएका र उनीहरुलाई पनि मन्दिर परिसर, राममन्दिर, भष्मेश्वरसहित क्षेत्रमा त्रिपालको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति ९ फाल्गुन २०७६, शुक्रबार १५:४३