टोरन्टो फिल्म फेस्टमा प्रियंका

मुम्बई : टोरन्टो इन्टरनेसनल फिल्म फेस्टिभलको ४५औं संस्करणको ब्रान्ड एम्बेसडरका रूपमा अभिनेत्री प्रियंका चोपडा र फिल्मकार अनुराग कश्यप सामेल हुने भएका छन्। यो फेस्टिभल सेप्टेम्बर १० देखि १९ सम्म आयोजना हुँदैछ।

प्रियंकाले टीआईएफएफसँगको आफ्नो यात्राका बारेमा भिडियो ट्विट गरेकी छन्। त्यसमा उनले लेखेकी छन्, ‘मेरो पूरा करिअरमा टीआईएफएफ एनईटी मेरा लागि घरझैं रहेको छ। किनकि कलाकार र निर्माता दुवै यो आयोजनाबाट आफ्नो संसारको सुरुआत गर्छन्।’

प्रियंकाले अर्को एक ट्विटमा लेखेकी छन्, ‘यो आयोजनाको असाधारण हिस्सामध्ये ती सिनेमाका प्रशंसक हुन् जो फिल्मी जादुको खुसियाली मनाउन जम्मा हुन्छन्। उनीहरूले मलाई सधैं प्रेमपूर्वक स्वीकार गरेका छन्।’ उनले फेरि लेखिन्, ‘म यो वर्ष ब्रान्ड एम्बेसडरका रूपमा सेवा गर्न पाउँदा गौरवान्वित भएको छु। मेरा लागि यो बहुमूल्य छ। यो सम्बन्धलाई निरन्तरता दिन उत्सुक छु।’

एजेन्सी

प्रकाशित मिति २८ असार २०७७, आईतवार ०४:४५