कुनै बेला पृथ्वीमा राज गर्ने भीमकाय डायनासोर ६ करोड ६० लाख वर्षअघि यसरी लोप भएको रहेछ ।

मंगलबार, माघ ७, २०७६,

कुनै बेला पृथ्वीमा राज गर्ने भीमकाय जन्तु डायनासोर ६ करोड ६० लाख वर्षअघि लोप भयो। यसको पछाडि आकाशबाट खसेको विशाल उल्कापिण्ड जिम्मेवार थियो, वा कुनै भयंकर ठूलो ज्वालामुखी विस्फोट भएर डायनासोर युग अन्त्य भएको हो?

यो प्रश्नको उत्तर खोज्न वैज्ञानिकहरूले थुप्रै अनुसन्धान गरेका छन्। साउथएम्पटन विश्वविद्यालयको अनुसन्धान टोलीले हालै ‘साइन्स’ जर्नलमा आफ्नो नयाँ खोज सार्वजनिक गरेको बिबिसीले लेखेको छ।
अनुसन्धान टोलीका प्राध्यापक पल विल्सनको निष्कर्ष छ, ‘पृथ्वीमा खसेको उल्कापिण्डको प्रभावले नै डायनासोर लोप भएको हो।’
प्राध्यापक विल्सन र उनको टोलीले यो अनुसन्धान क्रममा पश्चिम–मध्य भारतको ‘डेक्कन’ क्षेत्रमा उत्खनन् गरेको थियो। यसलाई पृथ्वीकै सबभन्दा ठूलो ज्वालामुखी प्रभावित क्षेत्रका रूपमा लिइन्छ।

यहाँ ६ करोड ६० लाख वर्षदेखि ठूल्ठूला ज्वालामुखीहरू गएका प्रमाण फेला परेका छन्। ती ज्वालामुखीले दसौं हजार वर्गकिलोमिटरका चट्टान पृथ्वीको सतहमा ल्याएको वैज्ञानिकहरू बताउँछन्। त्यही ज्वालामुखीका कारण डायनासोर लगायत अन्य स्तनधारी र घस्रने जीवजन्तु विनाश भएको मानिँदै आएको थियो।
पछि डायनासोर लोप हुनुमा अर्को कारण पनि हुनसक्ने प्रमाण फेला पर्‍यो।

वैज्ञानिकहरूले मेक्सिकोभन्दा टाढा अमेरिकाको उत्तरी डकोटामा जीव तथा वनस्पतिका यस्ता अवशेष (फोसिल) फेला पारे, जुन ६ करोड ६० लाख वर्ष पुराना थिए। ‘नेसनल एकेडेमी अफ साइन्सेस’ नामक जर्नलमा प्रकाशित उक्त प्रतिवेदनले आकाशबाट उल्कापिण्ड खसेर मेक्सिकोको प्राचीन ताल र पृथ्वीका जीवजन्तु लोप भए भन्ने वर्णन गरेको छ।
यसपालि साउथएम्पटन विश्वविद्यालयका प्राध्यापक विल्सन र उनको टोलीले यी दुवै अवधारणामाथि छुट्टाछुट्टै अनुसन्धान गरेर आफ्नो निष्कर्ष निकालेको हो।

विल्सनका अनुसार, ज्वालामुखी विस्फोटनबाट पृथ्वीको जलवायुमा असर त पर्छ, तर त्यसले कुनै जीवजन्तु पूर्ण रूपमा नष्ट हुने गरी विनाश ल्याउन सक्दैन। त्यति बेलाको ज्वालामुखी विस्फोटन र डायनासोर लोप हुनुमा तालमेल नदेखिएको उनले बताए।
जब उनीहरू अनुसन्धान क्रममा उत्तर एट्लान्टिक सागरको पिँधमा पुगे, त्यहाँ छ करोड ६० लाख वर्ष पुराना दसौं हजार जीवाशेष फेला पारे।
‘ती अवशेषको विश्लेषणबाट हामीले के पत्ता लगायौं भने, यिनीहरू ज्वालामुखी विस्फोटनभन्दा भयंकर ठूलो घटनाले मासिएका हुन्,’ उनले भने, ‘यो उल्कापिण्डकै प्रभाव हो।’

वैज्ञानिकहरूका अनुसार छ करोड ६० लाख वर्षअघि मेक्सिकोको युकातान प्रायद्विपपमा बाह्र किलोमिटर लामो उल्कापिण्ड खसेको थियो।
उल्कापिण्डको प्रभावले पृथ्वीको सतहमा आगोका लप्का उठेका थिए। वायुमण्डल धुवाँको मुस्लोले भरिएको थियो। पृथ्वीमा विनाशकारी भुइँचालाहरू आए। समुद्रमा हिमालझैं अग्ला पानीका छाल लहराए। यसले वर्षौं वर्ष पृथ्वीको तापक्रम शून्य डिग्रीभन्दा तल झर्‍यो। यस्तोमा कुनै जीवजन्तु बाँच्ने गुञ्जायस थिएन। समुद्री तापक्रम त सयौं वर्ष यही स्थितिमा रह्यो।

वैज्ञानिकहरूका अनुसार मेक्सिकोको युकातान प्रायद्वीपमा उल्कापिण्ड खसेपछि तीन सय अर्ब टनभन्दा बढी सल्फरले पृथ्वीको वायुमण्डल ढाकेको थियो। यसको प्रभाव चारैतिर फैलियो। हजारौं माइल परेको उत्तरी डकोटा त्यसैमध्ये एक हो।
उक्त उल्कापिण्ड १८ किलोमिटर प्रतिसेकेन्डको गतिमा पृथ्वीसँग ठोक्किएको वैज्ञानिकहरू बताउँछन्। यसले पृथ्वीका अर्बौं अर्ब चट्टान धूलोपिठो भए। कति त बाफ बनेर उडे। वायुमण्डलभरि धुवाँ र धुलोको मुस्लो छायो। यसले ३ सय २५ गिगाटन सल्फर र ४२५ गिगाटन कार्बन–डाइ–अक्साइड वायुमण्डलमा मिसिएको अनुसन्धानकर्ताको भनाइ छ।
सल्फरयुक्त धुवाँ र धुलोको मुस्लो यति बाक्लो थियो, त्यसले सूर्यको किरण पृथ्वीसम्म आउने बाटोधरि छेक्यो। सूर्यको किरण ८५ प्रतिशत छेकिएको वैज्ञानिकको आकलन छ।

पृथ्वीको आकस्मिक जलवायु परिवर्तनलाई त्यति बेलाका जीवजन्तु र वनस्पतिले सहन सकेनन्। खासगरी करोडौं वर्षदेखि पृथ्वीमा राज गर्दै आएका डायनासोरजस्ता भीमकाय जनावर नै जलवायु परिवर्तनको चपेटामा परे। चिस्सिएको पृथ्वीसँग उनीहरू अभ्यस्त हुन सकेनन्। भकाभक यो धर्तीबाट लोप हुँदै गए। त्यही हालत अन्य स्तनधारी, घस्रने जनावर र वनस्पतिहरूको पनि भयो।

यो विनाशलीलापछि पृथ्वीमा फेरि जीवजन्तु र वनस्पतिको उदय हुन लाखौं वर्ष लाग्यो।
अहिलेसम्मको खोजअनुसार साढे ६ करोड वर्षअघि उल्कापिण्ड ठोक्किँदा मेक्सिको खाडीमा १०० किलोमिटर लामो र ३० किलोमिटर गहिरो खाडल बनेको थियो। गहिरो खाडलका डिलमा चुचुरा बनेका थिए।
यो खाडलको अधिकांश हिस्सा समुद्रमुनि छ। केही हिस्सा जमिनमा भए पनि आकृति मात्र देखिन्छ। धेरैजसो भाग चुनढुंगा (लाइमस्टोन) को थुप्रोले ढाकिएको छ।
पृथ्वीको सतहमा उल्कापिण्डले पारेको यस्तो असरमाथि खोज हुन थालेको निकै समय भइसक्यो। वाल्टर अल्भारेज भन्ने वैज्ञानिकले सबभन्दा पहिला त्यहाँको माटोमा ‘इरिडियम’ भन्ने पदार्थ भेटेका थिए। यस्तो पदार्थ बाह्य पिण्डमा मात्र पाइन्थ्यो।
डायनासोर तथा त्यति बेलाका जीवजन्तु पृथ्वीबाट लोप भएको र माटोमा त्यस्तो पदार्थ मिसिएको समय लगभग एकै थियो। यही आधारमा अल्भारेजले कुनै उल्कापिण्ड पृथ्वीमा खसेपछि डायनासोर लोप भएको हुनसक्ने अवधारणा अघि सारे।
उनको यो अवधारणा सुरुमा निकै विवादित भयो।
सन् १९९० मा मेक्सिको प्रायद्वीपमा उल्कापिण्ड खसेर बनेको विशाल खाडल फेला परेपछि बल्ल वैज्ञानिकहरूले अल्भारेजको अवधारणामा विश्वास गर्न थालेका हुन्।

यही सिलसिलामा प्राध्यापक विल्सनको नयाँ खोजले उल्कापिण्डका कारण सिर्जित विनाशलीलामाथि थप प्रकाश पारेको छ।
आफ्नो बाटोमा घुमिरेका उल्कापिण्डहरू कहिलेकाहीँ अचानक सौर्यमण्डलभित्र छिर्छन्। अनपेक्षित बाह्य तत्वको प्रवेशले कुनै परिवारमा हलचल ल्याएजस्तै यस्तो उल्कापिण्डको प्रवेशले पनि सौर्यमण्डल परिवारमा हलचल ल्याउँछ। त्यस्ता उल्कापिण्ड सौर्यमण्डलभित्र छिर्दा कहिले पृथ्वी त कहिले अन्य ग्रहसँग ठोक्किने गर्छ।
पृथ्वीको उत्पत्ति क्रममा यस्ता घटना धेरै भएको वैज्ञानिकले भन्दै आएका छन्।

उनीहरूका अनुसार भविष्यमा पनि आकाशबाट उल्कापिण्ड खसेर पृथ्वीसँग ठोक्किन सक्छ। तर, त्यस्ता पिण्डको आकार उतिबेलाको भन्दा सानो हुन्छ र त्यो टकराव उहिलेजस्तो भयानक हुँदैन।
(बिबिसी लगायत विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा)

प्रकाशित मिति ७ माघ २०७६, मंगलवार ०६:४५